Share This:
Bikram Baba

त्यो खुला पुजा स्थल–विक्रमबाबाः एक यात्रानुभव

जब कुनै पवित्र स्थल घुम्ने योजना बन्छ, तब मन फुरुङ्ग वा अलि बढि धार्मिक बन्छ । यस्तो अनुभव सायद तपाईंले पनि गर्नु भएकै होला । अझ यसरी सुरु गरौं न, कुनै पवित्र स्थल वा मन्दिर घुम्ने भनेपछि मन नै एक खालको पवित्र भएको अनुभव हुन्छ । म यस्तै धार्मिक मन बोकेर यो हप्ता चितवनको सु–प्रख्यात, पवित्र धार्मिक आस्थाको केन्द्र विक्रमबाबा घुमें । अहिले सम्म नपुगेको विक्रमबाबा म पहिलो पटक पुगेको हुँ । यस्तै १/२ दिन अगाडीको प्लान थियो हाम्रो । यानिकी म ग्रुपमा थिएँ । कुरा मुख्य चोक बाटै सुरु गरौं । जब भरतपुरको चौविसकोठीबाट विक्रमबाबाका लागि छुट्ने म्याजिक भ्यान सो स्थान तर्फ सोझियो, तब देखि नै मन अलि बढि कौतुहल भएकै हो । नहोस पनि किन, पहिलो पटक एउटा नयाँ ठाउँमा जाँदैथिएँ । त्यो यात्रा भरमा म चढेको म्याजिक भ्यानको टाएर कति पटक घुम्यो कुन्नी तर मन चाहिँ नाचेकै हो, विक्रमबाबा घुम्ने अभिलाषामा । बाटो भरी चुपचाप साथीहरुको गफ सुन्दै यात्रा गर्दै गर्दा मनमा अनेकौं तरङ्ग आएकै हुन् ।

विक्रमबाबाको निकै चर्चा सुनेको थिएँ । धार्मिक स्थल एक सत्य घटना बोकेको, त्यहाँ पुगेर वर मागे पुरा हुने रे, मेला अवधिभर निकै धेरै भक्तजनहरु (भारतबाट समेत) आउँछन् रे आदि आदि । तर सबै अरुले भनेको कुरा सुनेर मात्र कति एक पछि अर्को कौतुहलता बोक्ने ? यसको सप्रमाणका लागि पनि मन लालायित थियो, त्यहाँको परिदृष्य नियाल्न । आँखाहरु आतुर थिए, त्यो वास्तविकता टिप्न । साथीहरु एकपछि अर्को बाटोमा आउँने ठाउँको नामहरु भन्दै थिए तर म नितान्त गाडीबाट ओर्लिने ठाउँको प्रतिक्षामा थिएँ । किनकी मैले विक्रमबाबा जहाँ पुग्नु थियो । झ्याँक्क ! गाडीले बाटोको स्वरुप अनुसारको प्रतिक्रिया दिन्थ्यो, वेलावेलामा । गाडी भित्रका वस्तु भनेका हामी त्यसै अनुसार गर्न विवस थियौं । तर मन त्यस्तो थिएन । अडिग थियो, विक्रमबाबा ।

Bikram Baba रङ्गिचङ्गी पोसाकमा सजिएका मान्छेहरुको भिड नजिकै पुगेपछि गाडी रोकियो । हामी ओर्लियौं । मलाई लागेको थियो, सायद त्यहिँ कतै नजिकै छ कुनै भव्य आलिसान विक्रमबाबाको मन्दिर । तर पछि थाहा भयो त्यहाँबाट अझै साढे दुई किलो मिटर हिड्नुपर्दो रहेछ । म पहाडमा हुर्किएको र आज पनि हिँड्न नडराउने । मेरो लागि साढे दुई किलोमिटर कुनै सपना थिएन । यद्दपी अत्याधिक गर्मी भने थियो त्यो दिन । बाटोमा मान्छेहरु बाध्यताले भएपनि रमाएकै देखिन्थे । जे होस् त्यो यात्रामा कोहि बेखुसी भने देखिएन । बाटोमा आँखाले भ्याइन्जेल देखिने मान्छेहरु थिए । सबै मै जस्तै विक्रमबाबाको दर्शन गर्न हिँडेका । त्यो कुनै शहरको बाटो थिएन । चितवन राष्ट्रिय निकुञ्ज भित्र होस् पनि कसरी ? सालको जंगलकाबीच बनेको बाटोमा अनेक तरहका मानिसहरुले फुलबुट्टा भरेको देखिन्थ्यो । मेरा सहकर्मीहरु साथीहरुसँगको अनेक प्रकृतिका गफहरुसँगै विक्रमबाबा नजिकिँदै थियो । जब हामी विक्रमबाबा पुगिसकेका थियौं । मेरा साथीहरु भन्दै थिए, विक्रमबाबा आईपुगियो । तर मलाई विस्वास लागेन । अझैपनि मैले सोंचिरहेको थिएँ, साथीहरुले बाटो कटाउन आयौं वा आउनै लाग्यौं भनेर मनलाई सान्तवना दिएका हुन् । तर हाम्रो यात्रा टुंगिएको थियो, त्यहि एउटा जंगलकाबीचमा पुगेर वा भनौं अनेकौं मानिसहरुको भिडमा पुगेर । जब साथीहरु यहि हो विक्रमबाबा भन्दै दर्शनका लागि लाम लागे, म त रनभुल्लमा परें । के त्यो मैले सोंचेकै विक्रमबाबा थियो त ? अवश्य थिएन । किनकी त्यहाँ कुनै धार्मिक स्थलका नाममा करोडौं खर्चेर बनाईने आलिसान वंगला वा यस्तै कुनै भवन वा कुनै सैलीका परम्परागत घरहरु थिएनन् । अनि कहाँबाट मैले सोंचे जस्तो हुन्छ त, विक्रमबाबा । यो त अचम्म भयो ।

थियो त केवल एकदुई वटा सालको रुखलाई वरिपरिबाट सामान्य काठले बेरिएको । र त्यहिँ वरिपरी मान्छेहरुको भिडभाडले आस्थामै पुजा गरिरहेको । त्यहिँ अगरवत्ति बलेका थिए । मानिसहरु आ–आफ्नो आस्थालाई ढोगिरहेका देखिन्थे । आखिर पुजा सबैले गरिरहेका थिए । सायद वर पनि मागिरहेका थिए । मान्छेहरुले वलि पनि चढाईरहेका थिए । बलि चढाउनेहरुले मुल स्थानको एक साईडमा आस्था पुर्वक बलि दिईरहेका थिए । उनीहरुको आफ्नै धार्मिक आस्था थियो होला । तर वन्य जन्तु संरक्षणका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्ज भित्रको विक्रमबाबामा बलि दिनेहरुको पनि लाम थियो । कतै संरक्षण कतै वद्य । खैर, जे भएपनि त्यो मानिसहरुको नितान्त व्यक्तिगत आस्था थियो । हाम्रा कयौं यस्ता धार्मिक आस्था र परम्पराकाबीच पनि मानिसहरु निरिह हुन्छन् सायद, देवतालाई खुसी पार्ने निहुँमा । कोहि भन्दै थिए, विवाहिता दम्पत्तीबाट लामो समय सन्तान नभएकाहरुले विक्रमबाबासँग आसिर्वाद थाप्छन् रे, सन्तानको वर माग्छन् रे, हाम्रो पृतिसत्तात्मक समाजमा छोराको । अनि त्यो पुग्छ रे । त्यसको केहि झलक त्यहाँ पनि देखिन्थ्यो ।

विक्रमबाबाको अचम्मको विशेषता त के भने त्यो वरिपरि क्षेत्रको कुनैपनि अग्ला सालका रुखहरु खाली थिएनन् । सबैमा पुजा गर्नेहरुको भिड थियो । अथार्त त्यहाँका हरेक सालका रुखको फेंदमा मान्छेहरुले विक्रमबाबाको दर्शन गरिरहेका थिए । उनीहरुले विक्रमबाबालाई कति पाउँथे कुन्नी तर पुजा चाहिँ गरिरहेका देखिन्थे । मुल स्थान वरिपरि त भिड अवस्य थियो नै । न कुनै मन्दिर, न कुनै मुर्ति, न कसैले नमाज पढ्थ्यो, न बाईबलका स्लोक सुनियो । थिएन तडकीपन । थियो त केवल आस्था । मानिसहरुको विस्वास । दर्शन । खुला आकाश मुनिको त्यो दर्शन, मलाई अनौंठो लाग्यो । वास्तवमा रमाईलो त त्यतिवेला लाग्दो रहेछ जतिवेला सोचेभन्दा सम्पुर्णतः फरक, कल्पना भन्दा बाहिरको कुनै ठाउँमा भ्रमण गरिन्छ ।

हरेक वर्ष १५ दिन सम्म लाग्ने विक्रमबाबाको यो मेला यसपालि चैत १५ देखि लागेको हो । थारुहरुको पवित्र स्थल मानिएपनि त्यो कुनै जाति विशेषको ठाउँ रहेन । नितान्त आफुलाई देख्न वा भनौं नितान्त आफ्नो आत्मविश्वासलाई देख्न पुग्नुपर्ने विक्रमबाबा एक उत्कृष्ट धार्मिक स्थल हो । कसैले केहि नदेख्न पनि सक्छ तर देख्नेले त्यो एक पवित्र आस्थाको धाम देख्छ, जो सँग दृष्टि छ । भनिन्छ, संसार पनि विश्वासमा अडेको छ । यस्तै मेरो दृष्टिमा विक्रमबाबा पनि एक विस्वासमा अडेको स्थान हो । आत्मविस्वास भएकाहरुले नै चिताएको वा मागेको वर पुरा हुने एक ज्वलन्त हो विक्रमबाबा । विक्रमबाबाबाट फर्केपछि मेरो एक सफल यात्रानुभवले त्यहि भन्छ । नत्र त त्यो जंगलकाबीच अरु के हुन सक्छ र ?

  • Bikram Baba
  • Bikram Baba
  • Bikram Baba
  • Bikram Baba
  • Bikram Baba