Share This:
Upperdang Gadi

नेपाल-अंग्रेज युद्धस्थल उपरदाङगढी ओझेलमा, चितवनको पुरानो सदरमुकामको चासो र चर्चा कम

२०७३ कार्तिक १४ (October, 30 2016), Source: Online Khabar

चितवनको ऐतिहासिक पर्यटकीय महत्व बोकेको उपरदाङगढी संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सरकारी उदासीनताका कारण ऐतिहासिक पर्यटकीय स्थल ओझेलमा परेको छ ।

जिल्ला विकास समितिसँगै स्थानीय पर्यटन व्यावसायीहरुको उदासिनका कारणका यो ठाउँ थप संकटमा पर्दै गइरहेको स्थानिय शिक्षक गणेशबहादुर थापाले बताए । उनले आन्तरीक पर्यटकहरु अवलोकन गर्न आए पनि बाटो राम्रो नहुँदा अपेक्षाकृत विदेशी पर्यटकहरु आउन नसकेकोे बताए ।

नेपालको तेश्रो पर्यटकीय केन्द्रका रुपमा चितवन रहेपनि यसको पुरानो सदरमुकाम तथा नेपाल-अंग्रेज युद्धस्थल उपरदाङगढीबारे भने खासै चर्चा र चासो भएको छैन ।

यस्तो छ इतिहास

उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो । सन् १९६० को दशकको शुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम रहेको चितवनका पुराना साहित्यकार प्रेमविनोद नन्दन बताउँछन् । विक्रम् सम्वत् २०१६ सालसम्म महत्वपूर्ण सरकारी अड्डा र अदालत सबै यसै क्षेत्रमा रहेका थिए ।

ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्ने दाहाखानी गाविस-३ मा पर्दछ । समुदि्र सतहदेखि १२७५ मिटर उचाइमा पर्ने यो किल्ला तल्कालीन बाइसे-चौविसे राज्य एकीकरणका बेला अंग्रेज फौज विरुद्धको युद्धको दौरानमा नेपाली भुमिको रक्षाका लागि सन् १८०० को शुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गराएका थिए । पूर्वी चितवनको टाँडीबाट ६ माइल टाढा रहेको गढी सन् १८०० मा निर्माण भएको र सन् १९६० सम्म चितवनको सदरमुकाम रहेको पुरातत्व विभागले जनाएको छ ।

तीन फुट चौडाई तथा छ फुट उचाई भएको प्रवेशद्वार रहेको गढीभित्र कोत घर, कालिका र सिद्धबाबाको प्रतिमा, इनार लगायतका संरचना रहेका छन् । ढुंगा, माटो र चुनबाट निर्माण गरिएको गढीको बाहिरी भागको मोटाई तीन फिट रहेको छ । गढीमा नौ वटा सेन्ट्रीपोष्ट छन् । लगभग ३ फिट बाक्लो पर्खालको चारै दिशातर्फ तोप पड्काउने उद्देश्यले ९ वटा खुल्ला झ्यालहरु बनाइएको छ ।

किल्लाको दक्षिणी भागमा भगवान शिव र कालिकाको मन्दिरको भग्नावशेष मात्र बाँकी छ भने गणेशको मन्दिर प्रवेशद्वारमा छ । बज्रयोगिनी र बालकुमारी देवीको मन्दिर भने किल्लाभित्र छ । चारैतिरबाट गहिरो नहरले घेरिएको यो किल्ला ढुंगाको ठूला टुक्रा, चुन र माटोले बनाइएको छ । उत्तरी मोहडामा प्रवेशद्वार छ भने बीच भागमा इनार र हतियार भण्डार गर्ने कोत घर छ ।

गढीको सुरक्षाका लागि भनेर तारबार लगाउनुका साथै कोत घरको सुरक्षाका लागि ट्रष्टसमेत निर्माण गरिएको छ । तर हाल त्यो पनि उचित संरक्षणमा छैन । ‘पुरातात्विक बस्तुहरु देखाएर पर्यटक लोभ्याउन सकिन्थ्यो,’ रेवान सौराहाका अध्यक्ष लालबहादुर भट्टले भने, ‘के गर्ने सम्बन्धित निकाय र पर्यटन व्यावसायीहरुले गढीको महत्व बुझ्न सकेनन् ।’

उपरदाङगढीको संरक्षण गरी सो ठाउँमा पर्यटक लैजान सके चितवनमा आउने पर्यटकहरुको बसाई लम्बिने पर्यटनकर्मी एवम् नेचर गाइड जितबहादुर तामाङ बताउँछन् । पर्यटन क्षेत्रको विकासका लागि जिल्ला विकास समिति चितवनले वार्षिक रुपमा विनियोजन गर्ने रकम पनि उपरदाङगढीको संरक्षणमा खर्च हुन सकेको छैन । सरकारी निकायकै उदासिनताका कारण महत्वपूर्ण गढी ओझेलमा परेको चितवन पर्यटन विकास समितिका पूर्वअध्यक्ष जिएन थपलियाले बताए । उनले भने, ‘उपरदाङगढीको संरक्षण गरेर सो क्षेत्रमा पर्यटक लैजान सकिने सम्भावना हुँदाहुँदै पनि सरकारी निकायको उदासीनताले महत्वपूर्ण गढी ओझेलमा परेको छ ।’

बाह्रै महिना जाडो हुने यो ठाउँ वातावरणीय हिसावले पनि रमणीय छ । आकाश सफा भएका बेला मनास्लु, गणेश हिमाल लगायतका हिमालहरु उपरदाङगढीबाट देख्न सकिन्छ । पहाडमा रमाउने जुरेली, रानी चरी, कुथ्रुके, तोरीगाडे, चाँचर, हुँचिल, न्याउली, भ्याकुर जस्ता अनेक प्रजातीका चराहरु यहाँ पाइन्छन् । सडकको राम्रो अवस्था भए उपरदाङगढी नजिकै रहेको चिसापानीटार चरा अवलोकनका लागि राम्रो स्थान भएकाले पर्यटकको संख्या अझ बढ्न सक्ने चराविद टिका गिरीले बताए ।

शक्तिखोरबाट हिँडेर करिब ३ घण्टामा उपरदाङगढी पुग्न सकिन्छ । अग्लो चुचुरोमा रहेको गढीबाट चितवन जिल्ला छर्लङ्ग देखिने भएकाले यो गढी रणनीतिक हिसावले पनि महत्वपूर्ण रहेको स्थानीय बताउँछन् । यो रमणीय स्थान चेपाङ, मगर र गुरुङहरुको पातलो बस्तीले घेरिएको छ । आर्थिकरुपले विपन्न तर सोझा र परिश्रमी यी जातजातीहरुको आफ्नै मौलिक परम्परा, सँस्कृति र रितिरिवाज छन् । गढी क्षेत्रमा पुग्ने पर्यटकका लागि खान, बस्न होमस्टेको सुविधा छ जहाँ यी तीनै जातिहरुको कला सँस्कृति एकैठाउँ अवलोकन गर्न पाइन्छ । हाल कटेज रेष्टुरेन्ट पनि खुलेको छ ।

पर्यटकहरुको लागि पैदल मार्ग (ट्रेकिङ रुट) बनाइएको छ । पर्यटकहरु प्रायः हुग्दी हुँदै हात्तिवाङ, सिराइचुली, जयन्दला, गढी, शक्तिखोर निस्केर चितवन राष्ट्रिय निकुञ्ज पुग्छन् । पर्यटक र पथप्रदर्शककालागि सम्बन्धित ठाउँहरुमा होमस्टेको ब्यवस्था भएपनि उपरदाङगढीसम्म पुग्ने राम्रो बाटो नबन्दा समस्या भएको स्थानीय आइतराम चेपाङले बताए ।

आर्थिक, सामाजिक रुपमा पिछडिएका चेपाङ, गुरुङ, मगर, तामाङ लगायतका जनजातिको बाक्लो बस्ती रहेको शक्तिखोर, दाहाखानी, काउले क्षेत्रका बासिन्दाको आयआर्जन सुधार गर्न नेपाल सरकारले ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम सञ्चालन गर्दा यस क्षेत्रमा होमस्टे सञ्चालन शुरु गरिएको थियो । तर अहिले तीनवटा बन्द छन् भने दुईवटा मात्रै सञ्चालनमा छन् ।

उत्तरी भागमा अजंगका पहाड, आकाशै छेडुँला झैं गर्ने अग्ला हिमाल, दक्षिणी भागमा देखिने चितवन उपत्यकाको सुन्दर दृष्यले यहाँ आउने जोसुकैलाई मन्त्रमुग्ध बनाइदिने ट्रेकिङका लागि पहिलो पटक गढी आइपुगेकी भरतपुरकी सविना लम्सालले बताइन् । जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढी जाने सडक पहिरोले बिगारेपछि त्यहाँ जाने पर्यटकले सास्ती खेप्न बाध्य छन् । बाटो बन्न काम सुरु गरे पनि पूर्णता नपाउँदा पर्यटकहरुले सास्ती खपेका हुन् ।

पर्यटकका लागि ट्रेकिङ रुटसमेत निर्माण गरे पनि संरक्षण नहुँदा पहिरो पानीका कारण विगि्रएको छ । चितवनको शक्तिखोर तथा पृथ्वीराजमार्ग अन्तर्गत दाह्रेचोक गाविसको फिस्लिङबाट उपरदाङगढी जान सकिने सडक भएपनि दुबै सडक पहिरोले बिगारेको छ । फिस्लिङबाट चण्डीभञ्ज्याङको तोलाङ हुँदै उपरदाङगढी आउने सडक मर्मत गरेर सामान्य गाडी हिँडाउन सकिएपनि शक्तिखोरबाट आउने सडक भने नयाँ नै बनाउनु पर्ने अवस्था भएको स्थानीय शिक्षक गणेश थापाले बताए ।

‘चिसो मौसम शुरु भएपछि उपरदाङगढीमा पर्यटकको संख्या बढ्छ । तर यस वर्ष सडक बिग्रेकाले पर्यटकले सास्ती पाउँछन्,’ थापाले भने । ऐतिहासिक स्थलको संरक्षण नहुनुको कारणबारे बुझ्दा स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेलले राज्यस्तरबाटै पहल नभएसम्म स्थानीय स्तरबाट केही गर्न नसकिने बताउँछन् । उनले भने, ‘जिल्लामा धेरै पर्यटकीय स्थलहरु रहेकाले सबैलाई हेर्नुपर्ने हुन्छ । सानो रकमले त केही पनि हुँदैन । राज्यस्तरबाटै यस्तो क्षेत्रका लागि विशेष बजेट छुट्टाउनु पर्छ ।’

  • Upper Dang Gadi
  • Upper Dang Gadi
  • Upper Dang Gadi
  • Upper Dang Gadi
  • Upper Dang Gadi