एक सिंगे गैंडा राख्ने ठाउँ हेर्न नेपाली टोली चीन गयो

Rhino to Shifted in China चीनलाई दिइने दुई जोडी गैंडा राख्ने ठाउँ (वासस्थान) को वैज्ञानिक अध्ययन गर्न नेपाली टोली चीन गएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईको नेतृत्वमा गएको टोलीमा चितवन निकुञ्जका प्रमुख संरक्षण (चीफ वार्डेन) अधिकृत रामचन्द्र कँडेल, निकुञ्जका भेटेरिनरी चिकित्सक कमल गैरे, वन मन्त्रालयको वैदेशिक सहयोग समन्वय महाशाखाका अधिकृत विश्व शेरचन र भन्सार विभागका प्रतिनिधि छन् । चितवनकै गैंडा उपहार दिइने भएकाले चितवन निकुञ्जका चीफ वार्डेन र भेटेरिनरी चिकित्सकलाई टोलीमा समावेश गरिएको हो ।

केपी ओली नेतृत्वको सरकारले गत असार २६ मा छिमेकी मुलुक चीनलाई विश्वमै दुर्लभ एकसिंगे दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो । तत्कालिन वनमन्त्री अग्निप्रसाद सापकोटासमक्ष ‘स्टेट फरेस्ट्री एडमनिस्ट्रेसन’का मन्त्री झाङ जियाङले उपहारस्वरूप दुई जोडी गैंडा उपहार मागेपछि सरकारले उक्त निर्णय गरेको थियो ।

नेपाली विशेषज्ञहरुको टोलीले चीनमा नेपाली गैंडा राखिने ठाउँ उपयुक्त भए/नभएकोबारे विस्तृत अध्ययन गर्नेछ । टोलीले त्यहाँको हावापानी, वासस्थान, घाँसे मैदान, पानीका घोललगायतको अध्ययन गर्नेछ । चीनले आफ्नो मुलुकमा प्राकृतिक वासस्थानमा एकसिंगे गैंडाको संख्या विस्तार गर्ने लक्ष्यअनुुसार गैंडा मागेको हो ।

विगतमा आफ्नो देशमा पनि एकसिंगे गैंडा भएको र विविध कारणले मासिएकाले फेरि गैंडाको संख्या बढाउन चाहेको भन्दै चिनिया वनमन्त्री झाङले गत वर्षको माघमा चीन भ्रमणमा गएका तत्कालिन वनमन्त्री सापकोटासंग गैंडा मागेका थिए ।

नेपालबाट लगिएका ती गैंडा चीनको कुन क्षेत्रमा राखिनेछ भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन । टोलीले अध्ययन गरेर फर्किएपछि चितवन निकुञ्जका गैंडा काठमाडौं ल्याएर चीनलाई हस्तान्तरण गरिनेछ । गैंडा गणना २०१५ अनुसार चितवन, बर्दिया र शुक्लाफाँटा निकुञ्ज तथा पर्सा वन्यजन्तु आरक्षमा जम्मा ६ सय ४५ गैंडा छन् ।

राष्ट्रिय प्रकृती संरक्षण कोषका गैंडाविज्ञ डा.नरेश सुवेदीले चीनमा ‘चितवन–बर्दिया जस्तो हावापानी भएका थुप्रै ठाउँ’ भएकाले त्यहाँ पनि बाँच्न सक्ने जानकारी दिए । उनले भने, ‘गैंडाको जीनमै धेरै गर्मी र धेरै जाडो खप्न सक्ने क्षमता हुन्छ,’ त्यसैले त्यहाा (चीनमा) पनि बााच्न र प्रजनन गर्न सक्छ ।’

विगतमा सरकारले अमेरिकालाई पनि दुई पटक गरी दुई जोडी गैंडा उपहार दिएको थियो भने जर्मनलाई पनि दुई पटक एकरएकवटा गैंडा उपहार दिएको देखिन्छ । सिंगापुर, बंगलादेश, बेलायत, जापान र अष्ट्रियालाई पनि गैंडा उपहार दिइएको थियो ।

यस्तै, सरकारले घडियाल गोही, मगर गोही, हिमाली ब्वाँसो, घडियाल र मगर गोहीका अन्डा, चितुवालगायत पनि उपहार दिएको रेकर्ड छ । जीवितबाहेक मरेका वन्यजन्तुका छाला, टाउको, प्वााखलगायत पनि सरकारले उपहार दिएको देखिन्छ ।

Rhino Data

यसरी दिइन्थ्यो

विभागका पूर्व महानिर्देशक श्याम बजिमयका अनुसार संरक्षण शिक्षाको आदानप्रदान स्वरूप केही वन्यजन्तु उपहार दिइएका हुन् भने केही सम्बन्धित देशको आग्रहअनुसार उपहार दिइएको हो । २०६२ सालअघिसम्म महेन्द्र प्रकृति संरक्षण कोष सक्रिय थियो । कोषका अध्यक्ष ज्ञानेन्द्र शाह र पछिल्लो अवस्थामा पारस शाहसम्म भए । सोही कोषको सिफारिसमा पनि कतिपय मुलुकलाई वन्यजन्तु उपहार दिइएको बजिमय बताउँछन् ।

पछिल्लो पटक २०६२ मा जंगे र ब्युटी नामका टुहुरा गैंडा भियना पुर्‍याउन काठमाडौंबाट ठूलो टोली अस्ट्रिया पुगेको थियो । निकै तामझामका साथ गैंडा विदेश पुर्‍याइन्थ्यो । उपहार पुर्‍याउन भीआईपीको लर्को लाग्थ्यो ।

उपहार दिइने वन्यजन्तु समात्नेदेखि ट्रकमा हालेर एयरपोर्टसम्म र्पुयाउने काम कोषका प्राविधिक र विभागका प्राविधिकले गर्थे । २०६५ सालमा मुलुकमा गणतन्त्र घोषणा भएपछि भने उपहार दिने काममा पनि पूर्णविराम लाग्यो, दरबार र राजपरिवारको प्रत्यक्ष संलग्नता रहने कोष पनि सरकार मातहत आयो । त्यसपछि उपहार लेनदेन रोकियो ।

Source: Kantipur