किन आवश्यक छ हात्ती संरक्षण ?

Save Elephants आज विश्व हात्ती दिवस । हात्तीको महत्व, संरक्षण र रक्षा गर्ने उद्देश्यले यो दिवस सन् २०१२ देखि मनाउन थालिएको हो ।

क्यानेडियन फिल्म निर्माता प्याट्रिका सिम्स र एलिफेन्ट रिइन्ट्रडक्सन फाउन्डेशनको संयुक्त प्रयासबाट यो दिवस मनाउन सुरु गरिएको हो। वन्यजन्तु संरक्षणसम्बन्धी काम गर्ने विश्वका ६० भन्दा बढी संस्थाहरुले यो दिवस मनाउँदै आएका छन्।

विश्वमा अहिले अफ्रिकन र एसियन प्रजातिका हात्ती मात्र बाँकी छन्। डिफेन्डर्स अफ वाइल्डलाइफ संस्थाका अनुसार हाल विश्वमा अफ्रिकन हात्तीको संख्या ४ लाख ५० हजारदेखि ७ लाखसम्म र एसियन प्रजातिका हात्ती ३५ हजारदेखि ४० हजारसम्म छ।

अफ्रिकन हात्तीलाई संरक्षित र एसियन प्रजातिको हात्तीलाई संकटापन्न जीवको सूचीमा अन्तर्राष्ट्रिय वन्यजन्तु संरक्षण संघले राखेको छ। नेपालमा पाइने हात्ती एसियन प्रजातिको हो।

हात्तीको महत्वपूर्ण अंग मानिने दाह्राका लागि यसको शिकार हुँदै आएको छ। संरक्षकर्ता डाक्टर डेम सेल्डिरिकले सन्डे एक्सप्रेसलाई दिएको जानकारी अनुसार अफ्रिकामा प्रत्येक १५ मिनेटमा आइभोरीका लागि एउटा हात्तीको शिकार हुँदै आएको छ।

अहिलेकै गतिमा हात्तीको शिकार हुने र संरक्षणका उपयाहरु नअपनाइए अबको १२ वर्षपछि हात्ती विश्वबाट लोप भएर जाने उनले दाबी गरेकी छन्।

अफ्रिकामा पछिल्लो समय ३६ हजार हात्ती मारिएको उक्त पत्रिकाले जनाएको छ। केन्यामा पत्रिकाको रिपोर्ट अनुसार अघिल्लो दुई महिनामा विभिन्न ठाउँमा छापा मार्दा साढे ४ टन हात्तीको दाह्राहरु फेला परेका थिए।

पछिल्लो समय नेपालमा हात्ती र मानवबीच पनि द्वन्द्वका समस्याहरु निम्तिन थालेका छन्। प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा हात्ती हिँड्ने जैविक मार्गलाई विनाश गरेर विमानस्थल निर्माण गर्न खोजिएको छ। जसका कारण मानव हात्ती द्वन्द्व निम्तिने खतरा छ।

विश्वमा वन्यजन्तुको संख्या घट्दै जानुमा चोरी शिकारी र बासस्थानको विनाश मुख्य कारण मानिदै आएका छन्।

नेपालमा हात्तीको संख्या २ सय हाराहारीमा याकिन गरिएको पनि सरकारी संयन्त्रबाट हात्तीको गणना भएको पाइदैन। हात्तीले परापूर्वकालदेखि प्रयोग गर्ने जैविका मार्गमा मानव आतिक्रमण बढेसँगै मानव–हात्तीको द्वन्द्व बढ्दै गइरहेको छ।

पछिल्लो अध्ययन अनुसार बारा,रौतहट,सर्लाही र महोत्तरीमा ३० जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन्। ६० देखि ७० वर्षसम्म बाँच्न सक्ने यो जीव जमिनमा पाइने सबैभन्दा ठूलो स्तनधारी जनावर हो।

Save Elephants चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रका हात्ती। तस्बिर: गोविन्द पोखरेल/कान्तिपुर

सदर चिडियाखानामा राखिएको पवनकली हात्ती नेपालको सबैभन्दा धेरै वर्षसम्म बाँचेको हात्ती हो। पवनकलीको उमेर ७० वर्ष पुगेको छ। ५ टन वजन हुने हात्तीलाई नियमित रुपमा दुई सयदेखि तीन सय केजीसम्म खाना आवश्यक पर्छ। त्यही भएर यसलाई बाँच्न ठूलो क्षेत्र आवश्यक पर्छ।

समूहमा बस्न रुचाउने हात्तीलाई विवकेशील प्राणीको रुपमा लिइन्छ। यिनीहरुमा भावनात्मक सम्बन्ध बढी हुन्छ। एक पटक गएको र देखेको ठाँउ हात्तीले बिर्सदैन।

जेन गुडअल इन्स्टिच्युट नेपालकी कार्यक्रम संयोजक सृष्टि सिं श्रेष्ठका अनुसार हात्तीमा मानिसमा जस्तो एक अर्कामा भिन्न हुने गर्छन्।

हरेक हात्तीको बानी फरक फरक हुने गरेको उनले बताइन्। समूहमा बस्न रुचाउने हात्तीमा मानिसमा जस्तै जन्मदा खुशी हुने,मृत्युमा वियोग हुने अनि मृत शरिरको आसपासमा धेरैसमयसम्म नजिक बस्ने जस्ता क्रियाकलापहरु हात्तीले देखाउँछ। हात्तीको झुण्डमा पोथी हात्ती(ढोई)हरु मात्र हुन्छन्। भाले हात्ती(मत्ता) सम्भोगको समयमा मात्र आउने श्रेष्ठको भनाइ छ।हात्तीको बच्चाले १२ वर्षसम्म मातृत्व स्याहार पाउँछ। भाले हात्ती छ भने समूह छाड्ने र पोथी छ भने समूहमै बस्ने गरेको उनले बताइन्।

हात्तीको सुँड अनि दाह्रालाई सबैले चासो दिन्छन्। हात्तीको सुँड सास फेर्न, वस्तुहरु बोक्नका लागि प्रयोग हुन्छ भने दाह्राले हतियारको रुपमा काम गर्छ। हात्तीको खुट्टाले शरिर थेग्न, कानले सुन्ने र तापक्रम सन्तुलनका लागि प्रयोग हुन्छ।

यसको पुच्छरबाट सबैप्रकारको जानकारी लिन सकिन्छ। पुच्छरमा भएको एउटा रौंबाट हात्तीले खाने खाना,आवस्था,उमेर लगायतका अन्य जानकारीहरु पाउन सकिन्छ।

जंगलमा हात्तीले आफ्नो सुँडको मद्दतले रुखका हागाँहरु भाँचेर जमिनमा रहेका स–साना विरुवाहरुका लागि प्रकाशको पहुँच दिलाइदिन्छ। जसका कारण साना बिरुवाहरुले प्रकाश पाउँछन् र प्रकाश संश्लेषण प्रकिया सुरु हुन्छ अनि राम्रोसँग हुर्कन्छन्। हात्तीले विरुवा तथा झाडी सफा गरेर नयाँ विरुवा हुर्कनका लागि वातवरण तयार गरिदिन्छ।

अफ्रिकाको साभाना ग्रासलेण्डमा हात्तीले सुख्याममा आफ्नो दाह्राको मद्दतले जमिन खनेर पानी निकाल्छ। हात्तीले निकाले उक्त पानी सख्खायाममा अन्य जीवहरुले पनि प्रयोग गर्छन् र बाँच्छन्।

हात्तीले जंगलमा ग्याप राखेर विरुवा खाने परिपाटीका कारण नयाँ वनस्पतिहरु उम्रने गर्छन्। विरुवा खाने क्रममा प्राकृतिक रुपमा बाटो निर्माण हुन्छ, जुन बाटो अन्य वन्यजन्तुहरुले प्रयोग गर्छन्।

यिनीहरु परागसेचनमा पनि भूमिका हुन्छ। केही प्रजातिका रुखहरुमा हात्तीका कारण सिड डिस्पर्सन हुन्छ। हात्तीले निकाल्ने गोबरमा वनस्पतिका बिउहरु पनि हुन्छन्।

साभना ग्रासलेन्डमा यस्ता विउहरु उम्रेर त्यहाँको पारस्थितिक प्रणाली (इको-सिस्टम)लाई स्वस्थ्य बनाउने गरेको सेभ द एलिफेन्ट संस्थाको वेभसाइटमा उल्लेख छ। हात्ती हिँड्दा बन्ने डोब(छाप) स–साना किरा प्रजातिका जीवहरुका लागि उपयुक्त बासस्थान हो। त्यस्ता डोबहरुमा ती जीवहरु बस्छन्।

यिनै यस्ता विशेषताका कारण हात्तीलाई छाता प्रजाति(किस्टोन स्पेसिस)को रुपमा लिइन्छ। यसकारण हात्तीको संरक्षण आवश्यक छ।

Source: Kantipur Daily