जापानी खानाको स्वाद दिलाउन सौराहामा खुल्यो होक्वाइदो

जापानी खानाको स्वाद दिलाउन सौराहामा खुल्यो होक्वाइदो

Home » News and Articles » जापानी खानाको स्वाद दिलाउन सौराहामा खुल्यो होक्वाइदो
2 min read
जापानी खानाको स्वाद दिलाउन सौराहामा खुल्यो होक्वाइदो

३० असोज, चितवन । सन् २०१९ मा नेपालमा सुरु भएको होक्काइदो समूहले आफ्नो सात वर्षको यात्रामा दशौँ शाखाका रूपमा होक्काइदो रामेन हाउस सौराहामा अघि बढाएको छ।

काठमाडौं र पोखरापछि चितवनको सौराहामा विस्तार भएको समूहले स्थानीय होटल तथा रेस्टुरेन्ट सञ्चालक, व्यवस्थापक, पर्यटनकर्मी र सञ्चारकर्मीको उपस्थितिमा जापानी खानाको स्वाद चखाउने तथा सुझाव आदानप्रदान गर्ने कार्यक्रम आयोजना गरेको छ।

शुक्रबारको कार्यक्रममा अपराह्न ४ बजेदेखि स्वागत र साँझ ५ देखि ७ बजेसम्म जापानी खाना चाख्ने कार्यक्रम रहनेछ। सहभागिता तथा खानाको स्वाद परीक्षण निःशुल्क हुनेछ र गैरमादक पेय मात्र उपलब्ध गराइने समूहले जनाएको छ।

दशैंपछि चरणबद्ध रूपमा सेवा सुरु गर्ने तयारीमा रहेको रेस्टुरेन्टले स्थानीय सरोकारवालाको सुझावलाई आफ्नो सेवा सुधारको आधार बनाउने जनाएको छ ।

जापानी खाद्य संस्कृति र नेपालमै काम गर्ने अवसर

विभिन्न उतारचढाव पार गर्दै अघि बढेको होक्काइदोको मूल उद्देश्य जापानी खाना संस्कृति नेपालमा परिचित गराउनु र नेपालमै रोजगारीका अवसर सिर्जना गर्नु हो। समूहका अनुसार हाल २ सयभन्दा बढी कर्मचारी यससँग आबद्ध छन् र करिब ९७ प्रतिशत ग्राहक नेपाली छन्।

‘सुरुवातमा आवश्यक खाद्य सामग्री जापानबाट ल्याउने गरिएकोमा अहिले नेपालमै उत्पादन वा तयार गर्न सकिने सामग्रीलाई स्थानीय रूपमा प्रयोग गर्ने दिशामा समूह अघि बढिरहेको छ’ होक्काइदोले एक विज्ञप्तिमा भनेको छ ‘यस क्रममा जापानी खानाको मौलिकता, सामग्रीको गुणस्तर, स्वच्छता, सुरक्षित भण्डारण र जिम्मेवार प्रयोगलाई प्राथमिकता दिइनेछ।’

समूहका संस्थापक तथा अध्यक्ष अर्जुन अधिकारीले सौराहाका स्थानीयलाई नै काममा दक्ष बनाएर रोजगारीको अवसर प्रदान गरिएको बताए । ‘सौराहाका दिदीबहिनी तथा दाजुभाइले आफ्नै ठाउँमा सम्मानजनक काम पाउन्, बाध्यताले विदेश जानुपर्ने अवस्था केही भए पनि कम होस् र विदेशबाट फर्किएकाहरूले आफ्नो सिप प्रयोग गर्ने अवसर पाऊन् भन्ने हाम्रो चाहना हो’ उनले भने ।

सौराहासँग सिक्दै, सौराहासँगै अघि बढ्दै

सौराहाको प्राकृतिक सम्पदा, थारू समुदायको समृद्ध इतिहास र संस्कृति तथा यहाँका होटल र पर्यटन व्यवसायले निर्माण गरेको पहिचानप्रति सम्मान व्यक्त गर्दै होक्काइदोले स्थानीय समुदायसँग दीर्घकालीन सहकार्य गर्ने लक्ष्य राखेको छ।

पर्यटकसँगै यहाँका होटल तथा रेस्टुरेन्ट सञ्चालक, व्यवस्थापक र स्थानीय बासिन्दालाई जापानी खानाको अनुभव गराउनु यस कार्यक्रमको विशेष उद्देश्य हो। लामो समय बस्ने पाहुनाका लागि खानामा विविधता, जंगल सफारीमा लैजान मिल्ने जापानी बेन्तो अर्थात् प्याक खाना तथा होटलहरूको आवश्यकताअनुसार अन्य सेवामा सहकार्य गर्ने योजना समूहको छ।

स्थानीय समुदायसँगको संवाद र सहकार्यबाट थारू खानपानको ज्ञान तथा स्थानीय सामग्रीलाई सम्मानपूर्वक बुझ्दै नयाँ परिकार, सौराहाको पहिचान झल्किने मिठाई र पेय विकास गर्ने सम्भावना पनि खोजिनेछ। सौराहामा विकसित राम्रो अभ्यास र परिकारलाई भविष्यमा होक्काइदोका अन्य शाखासम्म पुर्‍याउने सोच समूहले राखेको छ।

Source: Online Khabar

News and Articles

Related News, Articles and Information