चितवन राष्ट्रिय निकुञ्ज भित्र ‘जिप सफारी’ को आकर्षण

चितवन राष्ट्रिय निकुञ्ज भित्र ‘जिप सफारी’ को आकर्षण

Home » News and Articles » चितवन राष्ट्रिय निकुञ्ज भित्र ‘जिप सफारी’ को आकर्षण
Updated 6 October 2026 3 min read
चितवन राष्ट्रिय निकुञ्ज भित्र ‘जिप सफारी’ को आकर्षण

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने अधिकांश विदेशी पर्यटकको रोजाई हात्ती सफारी नै हुन्थ्यो। उनीहरु दिनभर हात्तीसँगै निकुञ्ज अवलोकन गरेर फर्कन्थे। आजभोलि भने विदेशी पर्यटकमा हात्ती सफारीको मोह घट्दै गएको छ। उनीहरु हात्तीभन्दा जिप सफारीमा रमाउन थालेका छन्।

सौराहाका पर्यटन व्यवसायी हरिभक्त घिमिरे जिप सफारीमा विदेशी पर्यटकको आकर्षण बढेको बताउँछन्। ‘सौराहा आउने भनेकै हात्ती सफारीको लागि भन्ने थियो। अचेल त्यस्तो छैन, पर्यटकहरु जिप सफारीमा रमाइरहेका छन्,’ विगत सम्झँदै घिमिरे भन्छन् ‘हात्ती खोज्नेहरु जिप तर्फ आकर्षित छन्।’

Jeep Drive Safari

चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकमा पनि जिप सफारी गर्ने पर्यटकहरुको संख्या बढेको देखिन्छ। गत आर्थिक वर्षमात्रै करिब एक लाख पर्यटकले निकुञ्ज भित्र जिप सफारी गरेका छन्।

सौराहा सेक्टरबाट मात्रै दैनिक औषतमा ४० वटा जिप निकुञ्ज प्रवेश गर्ने गरेको घिमिरेले बताए। ‘६ वर्ष भयो जिप सफारीमा पर्यटकको आकर्षण बढेको’, उनले भने ‘अहिले स्वदेशी र विदेशी पर्यटक जिप नै बढी चढ्छन्।’

निकुञ्ज भित्र सफारीका लागि ७० वटा जिपले अनुमति लिएका छन्। त्यसमध्ये सबैभन्दा धेरै सौराहा सेक्टरबाट ३२ वटा जिपले अनुमति लिएको निकुञ्जले जानकारी दिएको छ। निकुञ्जले गत आर्थिक वर्ष जिप सफारीबाट मात्रै चार करोड ८५ लाख २० हजार रुपैयाँ आम्दानी गरेको थियाे।

चितवन राष्ट्रिय निकुञ्ज भित्र जिप सफारीको इतिहास लामै छ। निकुञ्ज स्थापना नहुँदै होटल टाइगर टप्सले विदेशी पर्यटकलाई लक्षित गरे जिप सफारी गर्दै आएको थियो। तर, त्यसको क्षेत्र न्यून रहेको निकुञ्जका संस्थापक सदस्य रामपृतम यादव बताउँछन्। यद्यपि उनीहरुको क्षेत्र सीमित रहेको उनले बताए।

‘निकुञ्ज भित्र २०२० सालमा टाइगर टप्स स्थापना भएको हो। त्यसले विदेशी पर्यटकलाई जिपमा राखेर घुमाउँथ्यो’, उनले भने, ‘अन्यन्त्र रुट थिएन उनीहरुको मुख्य क्षेत्र मेघौली नै थियो।’ त्यसपछि निकुञ्ज भित्र खोलिएका टेम्पल टाइगर, नारायणी सफारी, गैँडा वाईल्ड लाइफ, सिजिएल, मचान लगायतका आठ वटा होटलले विदेशी पर्यटकलाई लक्षित गर्दै सीमित एरियामा जिप सफारी सञ्चालन गरेको उनले बताए।

Jeep Drive Safari

चितवन राष्ट्रिय निकुञ्ज २०२९ सालमा स्थापना भएको हो। त्यसपछि निकुञ्जभित्र अन्य रुट बनाउन थालिएको उनले बताए। अहिले निकुञ्जभित्र जिप सफारीका लागि ६ वटा रुट निर्माण गरिएको छ।

त्यसमध्ये सबैभन्दा बढी चल्ने सौराहादेखि कसरासम्मको रुट हो। यहाँको जिप सफारीको इतिहास त्यति लामो छैन। पर्यटन व्यवसायी राजकुमार अर्यालका अनुसार २०४२ अघिसम्म सौराहाका व्यवसायीसँग सफारीका लागि जिप थिएनन्।

‘उनीहरुले नारायणगढबाट भाडाका जिप ल्याएर निकुञ्ज वरिपरि विदेशी पर्यटक घुमाउँथे’, उनले भने ‘नेपालीहरु घुम्न त्यति आउँदा पनि आउँदैनथे। जिप चढ्ने कुरै थिएन।’ सो समयमा शुल्क पनि न्यून रहेको उनले बताए। अहिले निकुञ्ज बाहेक निकुञ्जसँग सीमा जोडिएका मध्यवर्ती सामुदायिक वनमा समेत जिप सफारी सञ्चालित छन्।

वातावरणका दृष्टिले जिप सफारी प्रदूषित हो। यसले वनस्पतिसँगै जंगली जनावरलाई समेत असर पार्दछ। निकुञ्ज भित्र सफारीका लागि छ वटा प्रवेश द्वार छन्। सौराहादेखि कसारा, कसरादेखि साँखीबारी, मेघौलीदेखि सुखीभार, कुजौलीदेखि आइल्याण्ड क्षेत्र, अमलटारीदेखि रिऊ र माडीदेखि भिम्लेसम्म जिप सफारीका लागि रुट बनाइएको छ। 

त्यसमा सौराहामा ३२, कसरादेखि साँखीबारीका लागि २०, मैघौलीमा ९, कुजौलीमा २, अमलटारीमा ६ माडी क्षेत्रमा एक वटा जिपले अनुमति लिएका छन्। निकुञ्ज प्रवेश गरेको प्रति जिप पाँच हजार रुपैयाँ शुल्क लिँदै आएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

अहिले निकुञ्ज भित्रका अधिकांश जिपले मापदण्ड पालना नगरेको उनले बताए। ‘बोलेरो भ्यानको स्वरुप परिवर्तन गराएर जिप बनाएको पाएका छौँ,’ उनले भने ‘यातायात कार्यालयसँग समन्वय गरेर कारबाही अगाडि बढाउँछौँ।‘ 

ती बोलोरोलाई अहिले नै कारबाही गर्न सक्ने अवस्थामा नरहेको उनले बताए। ‘हामीले सुधार गर्न भनेका छौँ। अहिले नै हटायौँ भने जिप सफारी नै संकटमा पर्न सक्छ,’उनले भने ‘एकै पटक हटाउन पनि कठिन छ।’ निकुञ्ज प्रवेश गर्ने जिपको क्षमता १० सिटको हुन्छ। 

Source: Nagarik News

News and Articles

Related News, Articles and Information